म्याग्दीमा कस्ले पाउला टिकट ?

  • ३ कार्तिक २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 4871 पटक पढिएको

बेनी, २ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तालमेल गरेका नेकपा एमाले र (माओवादी केन्द्र) बिच उमेद्वार सिट बाँडफाँडको गृहकार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर ४ अन्तरगत प्रदेशसभामा एक र प्रतिनिधि सभामा दुई क्षेत्र रहेको म्याग्दीमा बाम गठबन्धनबाट कुन दलले कुन क्षेत्र पाउँछन् भन्ने चर्चा र चासो चुलीएको छ ।

बिहीबार राष्ट्रिय स्तरका केही सञ्चार माध्यमहरुले प्रकाशन गरेको समाचार अनुसार म्याग्दीमा प्रतिनिधिसभाको उमेद्वार माओवादी केन्द्रले पाउने दुई दलको कार्यदलमा सहमती भएको छ । प्रतिनिधिसभा माओवादीले पाएमा प्रदेशसभाको दुई वटै क्षेत्र नेकपा एमालेले पाउने छ ।

माओवादीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला संयोजक तथा पुर्व सभाषद् गोविन्द पौडेल, नेता चन्द्रबहादुर घिमीरे र खुमनाथ सुवेदीको नाम सिफारीस भएपनी चुनावी तालमेल भएको अवस्थामा जिल्लाबाट सिफारीस गरिएका भन्दा अरु नेता पनी उमेद्वार बन्ने सम्भावना छ ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ, पुर्व उपप्रधानमन्त्री अमिक शेरचन, पुर्व सांसद गोविन्द पौडेल, बरिष्ठ नेता रामबहादुर थापा (बादल) र युवा नेता पुनम खड्का सम्भावीत उमेद्वारको रुपमा देखिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष बनेका श्रेष्ठ बेनी नगरपालीका ४ सिंगाका हुन् ।

म्याग्दीमा ठूला विकास आयोजना भित्र्याउन पहल गरेको, म्याग्दीमा माओवादीका संस्थापक भएको, केन्द्रिय स्तरमा पहुँच भएको, हाईप्रोफाईल व्यतित्व र बिवादमा नपरेको हिसावले अन्य नेताको तुलनामा श्रेष्ठलाई उमेद्वार बनाँउदा चुनाव जित्न सजिलो हुने गठबन्धनका नेताहरुको बिश्लेषण छ ।

उपाध्यक्ष हुँदा बेनी दरवाङ, बेनी जोमसोम सडक कालोपत्रेका लागि योजना पारेको, थुप्रै ग्रामिण सडक र अन्य आयोजनामा बजेट भित्र्याउन योगदान गरेकाले श्रेष्ठप्रती माओवादी, एमाले मात्र नभएर स्वतन्त्र मतदाताहरुको समेत सहानुभुती हुने बताईन्छ ।

म्याग्दीमा माओवादीबाट प्रतिनिधिसभामा उमेद्वार बन्ने सम्भावीत अर्का नेता हुन अमिक शेरचन । म्याग्दीको मालीका गाउँपालीका ४ ओखरबोटमा जन्मिएका नेता शेरचनको नेपालको शान्ति प्रक्रिया र दोस्रो जनआन्दोलन सफल बनाउन महत्वपूर्ण भुमिका मात्र छैन उनी केन्द्रमा सहज पहुँच भएका (हाईप्रोफाईल) नेता हुन् ।

उनि हाल चितवनमा बसोबास गर्छन् र माओवादी अध्यक्ष प्रचण्डले उमेद्वारी घोषणा गरेको चितवन क्षेत्र न. ३को चुनाव प्रचार प्रसार समितिको संयोजक बनेका छन् । गत असोजमा बेनी आएका नेता शेरचनले आफ्नो स्वास्थ्य अवस्था र नयाँलाई अवसर दिनुपर्ने भएकाले यसपाली उमेद्वार नबन्ने बताउनुभएको थियो । तालमेल पछि सहज हुने र पार्टीले पठाएको खण्डमा शेरचन म्याग्दीबाट उमेद्वार बन्ने सम्भावना छ ।

श्रेष्ठ र शेरचनपछि अर्का सम्भावीत उमेद्वार हुन पुर्व सभाषद् तथा वर्तमान जिल्ला संयोजक गोविन्द पौडेल । वि.स २०६४ सालको संबिधानसभा निर्वाचनमा बिजयी भएका पौडेल कुशल संगठन, जिल्लाको भुगोलमा परिचीत, स्पष्ट वत्ता र सहयोगी भावनाका भएपनी व्यक्तिगत आचरणका कारण पछाडी परेका छन् । पौडेललाई उमेद्वार बनाउँदा व्यक्तिगत आचारण र जातिय हिसाबले प्रतिपक्षले प्रहार गर्ने सम्भावना छ ।

म्याग्दीमा माओवादीका बरिष्ठ नेता रामबहादुर थापा (बादल) पनी उमेद्वार बन्ने चर्चा रहेको छ । पुर्व रक्षामन्त्री समेत रहेका बादल चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने मनस्थितीमा छन् । उमेद्वारको सिट बाँडफाँडको कार्यदलमा समेत रहेका नेता थापा म्याग्दीमा चुनाव लड्न आउँदा राष्ट्रिय स्तरमा स्थापित नेता भएपनी “टुरीस्ट” उमेद्वार भनेर विपक्षीले प्रचार गर्ने गतिलो माध्यम बनाउनेछन् ।

२०७० को संबिधानसभाको दोस्रो निर्वाचनमा लोकेन्द्र बिष्टमगर म्याग्दीमा पराजित भएका थिए । बाहिरको भन्दा जिल्लाकै उमेद्वारलाई प्राथमिकता दिनुपर्ने गठबन्धनका नेताहरुको भनाई छ । प्र्रदेशसभाको क्षेत्र नम्बर २ बाट उमेद्वारका लागि सिफारीस भएका वाईसीएलका केन्द्रिय सदस्य पुनम खड्कालाई पनी सम्भावीत उमेद्वारको रुपमा हेरीएको छ ।

पुर्व प्रधानमन्त्री प्रचण्डको सचिवालयमा रहेर काम गरेका बाबियाचौरका खड्का सहिद नन्दबहादुर खड्काका छोरा र सिर्जना खड्काका भाई हुन् । युवाहरु माझ लोकप्रिय रहेका र प्रचण्डको सचिवालयमा रहदाँ जिल्लामा विकास योजनाका लागि बजेट भित्र्याउन सक्रिय भुमिका निर्वाह गरेका कारण खड्काको चर्चा चलेको हो ।

स्थानीय तह निर्वाचनमा म्याग्दीका ६ स्थानीय तह मध्य अन्नपूर्ण, रघुगंगा गाउँपालीकाको अध्यक्ष उपाध्यक्ष, मालीका गाउँपालीकाको अध्यक्ष, बेनी नगरपालीकाको प्रमुख पद जितेपनी नेपाली काँग्रेस बाम गठबन्धन भन्दा करिब आठ हजार मतले पछाडी छ । विगतको तुलनामा संगठन बलियो भएको र जनजाती (मगर) समुदायको सहानुभुती भएकाले नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उमेद्वार पार्टी सभापती खम्बिर गर्बुजा पनी शशक्त र बलीयो प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।

एमालेको तुलनामा माओवादीले प्रतिनिधिसभाको उमेद्वार पाएको अवस्थामा सहज हुने काँग्रेसको आँकलन छ । यद्यपी गठबन्धन गरेकाले जसले टिकट पाएपनी जित्नैपर्ने दवाव बाम गठबन्धनलाई छ ।

मालीका र धौलागिरी गाउँपालीकाको अध्यक्ष उपाध्यक्ष तथा मालीका गाउँपालीकाको उपाध्यक्ष जितेको एमालेको तर्फबाट वि.स २०७० को संबिधानसभाको दोस्रो निर्वाचनमा नवराज शर्मा बिजयी हुनुभएको थियो ।

प्रतिनिधिसभाको उमेद्वार माओवादीले पाएको अवस्थामा एमालेले प्रदेशसभाको दुई वटै क्षेत्र पाउने सम्भावना छ । क्षेत्र न. १ बाट बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र जिल्ला अध्यक्ष हरिकृष्ठ श्रेष्ठ मध्य एक जनाले टिकट पाउने सम्भावना छ । क्षेत्र न. २ बाट पुर्व सांसद तथा पुर्व राज्यमन्त्री नरदेवी पुन, नवराज शर्मा मध्य एक जना उमेद्वार बन्ने सम्भावना छ ।

नेपाली काँग्रेसबाट प्रदेशसभाको क्षेत्र नम्बर १ मा नेत्रबहादुर महत, पुर्व सांसद रेशमबहादुर बानिया र नेता केबि भण्डारी मध्य एक जनाले उमेद्वारको टिकट पाउनेछन् । प्रदेश सभाको क्षेत्र न. २ मा अमलाल फगामी सर्वसम्मत रुपमा उमेदवारका लागि सिफारीस भएका छन् । फगामी मालीका गाउँपालीका ५ देविस्थानका हुन् ।

सन्तोष गौतम