आज घर-घरमा कुकुर तिहार मनाइँदै

  • १ कार्तिक २०७४, बुधबार
  • 1953 पटक पढिएको

काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।  कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ।


कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ ।  नरक चतुर्दशी बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको गौतमले बताए ।  यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।  यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।  यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ ।  तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ ।