निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने म्याग्दीका दलहरुको प्रतिबद्धता

  • १ कार्तिक २०७४, बुधबार
  • 2279 पटक पढिएको

म्याग्दी, १ कात्तिक । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन आचार संहितालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने म्याग्दीका राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधवार बेनीमा आयोजना गरेको छलफल कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि चुनाब प्रचार प्रसारको क्रममा आचार संहितालाई पालना गर्ने दलहरुले प्रतिबद्धता जनाएका हुन् ।

दलका प्रतिनिधिहरुले सम्बन्धित निकायले समेत समयमै आचार संहिताको अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए ।
छलफलमा सहभागि नेपाली काँग्रेस म्याग्दीका माधव प्रसाद रेग्मी, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपका माओवादी केन्द्रका शेरबहादुर केसीले आचार संहिता विपरित टिसर्ट, टोपी लगायतका प्रचार सामाग्रिको प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।


उहाँहरुले जिल्ला स्थित स्थित राजनीतिक दलहरु छुट्टै छलफलमा बसेर निर्वाचन आचार संहितालाई कार्यान्वयन गर्ने गरि समझदारी गर्ने समेत बताउनुभयो । कार्यक्रममा राप्रपाका बीरबहादुर थापा, राप्रपा (प्रजातान्त्रिक)का रुपनारायण श्रेष्ठ, संघिय समाजबादी फोरमका मुक्ति रोका, राष्ट्रिय जनमोर्चाका फौदबहादुर केसी, जनमुक्ति पार्टीका नरबहादुर थापाले निर्वाचन आचार संहिता अनुसार चुनाब प्रसार प्रसारको लागि प्रतिबद्ध रहेकोमा जोड दिएका थिए ।


कार्यक्रममा जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल, उम्मेदवार लगायत सरोकारवालाहरुले आचार सहिंतालाई अनिवार्य कार्यान्वयन गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनमा कसैले आचार संहिता उलंगन गरेमा सुरुमा एक लाखसम्म जरिवाना र उलंगनका घटना दोहोराईरहेमा आयोगले उम्मेदवारी बदर सम्मको कारबाही गर्न सक्ने भएकाले सचेत र सजग हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहायक निर्वाचन अधिकृत खेमराज पाठकले निर्वाचन आचार संहिताको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जिल्लामा निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाईएको बताउँदै प्रचार प्रसारको क्रममा आमसभा तथा भेलाहरु गर्दा सुरक्षा निकायलाई जानकारी गराउन दलहरुलाई सुझाब दिनुभयो । सो कार्यक्रमको सहजीकरण सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले गर्नुभएको थियो ।